Advertisement
|
सिन्धुपाल्चोक, वैशाख २१ । १२ वटा स्थानीय इकाई भएको सिन्धुपाल्चोकमा चुनावी माहोल तातेको छ । तीन वटा नगरपालिका र नौ वटा गाउँपालिका भएको सिन्धुपाल्चोकमा सबै तहमा ठूला तीन दलले आ–आफ्नो पक्षमा चुनावी माहोल सिर्जना भएको दाबी गरिरहेका छन् ।
तर, माओवादी-कांग्रेसभित्र उम्मेदवारी छनोटमा भएको बिबादका कारण त्यसको फाइदा उठाउँने दाउमा एमालेले आफ्नो गतिविधिलाई सक्रिय बनाएको छ ।
बाह्रविसे नगरपालिका
बाह्रविसे नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार भएका बालकृष्ण बस्नेतको पक्षमा माहोल सिर्जना गर्न अप्ठेरो परिरहेको कांग्रेस नेताहरुले बताइरहेका छन् ।
टिकट नपाएपछि बाह्रविसे क्षेत्रमा कांग्रेसभित्रका प्रभावशाली नेता बुद्धराज बस्नेत उम्मेदवारी मनायन दर्ताको अघिल्लो साँझ माओवादी केन्द्रमा प्रवेश गरेपछि माहोल कांग्रेसको विरुद्धमा गएको हो ।
कांग्रेसका केन्द्रीय सदस्य एव् उक्त क्षेत्रबाट सांसद भएका मोहनबहादुर बस्नेतको एकलौटीका कारण कांग्रेसबाट बिच्किएका अधिकांश एमालेमा प्रवेश गरेका छन् ।
वर्षौ पार्टीमा मेहनत गरेकालाई पाखा लगाएर माओवादीले नवआगन्तुक बस्नेतलाई उम्मेदवार बनाएका कारण माओवादीको पनि माहोल खस्किएको छ । यसै पनि बाह्रविसे क्षेत्रमा माओवादी कमजोर नै थियो ।
कांग्रेसभित्र बिबाद नचुलिएको भए एमालेलाई उक्त क्षेत्रमा कठिन भएको एमालेकै नेताहरुले बताउँदै आएका थिए । तर, अब एमालेबाट उम्मेदवार भएका स्थानीय र लोकप्रिय नेता निमफुञ्जो शेर्पाकै पक्षमा मत परिणाम आउने अनुमान गर्न कठिनाई नभएको अधिकांशको अनुमान छ ।
जसकारण बाह्रविसेमा कांग्रेस–माओवादी निराश भएका छन् भने एमाले उत्साहित भएको छ ।
चौतारा नगरपालिका
माओवादी अध्यक्ष प्रचण्डसँग व्यक्तिगत सम्बन्ध राम्रो भएका र प्रभावशाली मानिएका युवराज दुलाल शरदले टिकट नपाएर बिबादका बीच अन्तिम स्थितिमा अमानसिं तामाङलाई माओवादीले टिकट दिनुले चौताराको चुनावी माहोल एमालेको पक्षमा आएको विश्लेषण गरिएको छ ।
माओवादी नेता अग्निप्रसाद सापकोटाको क्षेत्र भएका कारण माओवादीले बाजी मार्ने सम्भावना बढी भएको भनिएको क्षेत्रमा बढेको आन्तरिक बिवादको फाइदा लिन एमाले दिनरात कसरत गरिरहेको छ । यसै पनि कमजोर कांग्रेसले पनि एमालेका उम्मेदवार सोम सापकोटालाई सघाउने बुझिएको छ ।
माओवादीबाट रुष्ट भएको ठूलो समूह त एमालेका उम्मेदवार सापकोटालाई जिताउँन खुलेयाम लागिरेहका छन् ।
मेलम्ची नगरपालिका
पहिल्यैदेखि एमालेको राम्रो मानिएको मेलम्ची नगरपालिकामा चुनाव जित्नेमा एमाले ढुक्क छ । तर, पछिल्लो समय टिकट बिबादका कारण एमाले कमजोर हुने र त्यसको फाइदा माओवादीले लिने सम्भावना धेरै थियो । तर, अन्तिम अवस्थामा बिबाद देखिका एमालेका दुई दाबेदारः डम्बर अर्याल र बालकृष्ण देउजाबीच भएको सहमतिले फेरि ग्रिन सिग्नल देखिएको छ ।
उम्मेदवारी दर्ताको दिन देउजा र अर्याल सँगै निर्वाचन कार्यालय गएर अर्यालको उम्मेदवारी दर्ता गरेका थिए ।
पछिल्लो माहोलले प्रतिस्पर्धी मानिएका माओवादी केन्द्रका उम्मेदवार श्याम खड्का अत्तालिएको कतिपयले आँकलन गरेका छन् ।
नगरपालिकासँगै गाउँपालिकाहरुमा पनि कांग्रेस–माओवादीमा टिकट बाँडफाँडमा भएको बिबादको फाइदा एमालेले उठाउने सम्भावना छ । source: nepalipatra

0 comments
प्रतिक्रिया दिनुहोस्...