Advertisement
|
मुख हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । हाम्रो
शरीरको मुख्यद्वार पनि हो र हाम्रो शरीरको सँधै
फोहोर रहने अंगमध्येको एक पनि हो । यहाँ सामान्यतया जतिखेर पनि
लाखौं किटाणु रहिरहन्छन् । यी किटाणुलाई नर्मल फ्लोरा
भनिन्छ । यसले सामान्यतया हामीलाई केही हानि
गर्दैन । तर जब हाम्रो रोग प्रतिरोधात्मक क्षमता घट्छ वा
हामीले दाँत तथा जिब्रो सफा नगरेको खण्डमा यी
किटाणुको संख्या एकदमै बढेर आउँछ र विभिन्न खतरनाक रोग लाग्न सक्छ
। यी किटाणु सजिलै हाम्रा मुख्य अंग मुटुदेखि मिर्गाैलासम्म
पुगेर विभिन्न खतरनाक रोग निम्त्याउन सक्छन् । जस्तै: हृदयघात,
मधुमेह, बच्चा तुहिनेलगायत रोग ।
नेपाली जनमानसमा पाइने केही महत्वपूर्ण
अन्धविश्वास निम्न प्रकार छन्:
१) दाँतको उपचार एकदमै महँगो हुन्छ:
– दाँतको उपचार गराउनु एउटा महत्वपूर्ण लगानी गर्नु हो ।
जसले हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व प्रदान गर्न
महत्वपूर्ण भूमिका खेल्छ । खानेकुरा चपाउनका लागि दाँत नभई नहुने
अंग हो । यसको उपचार गराउनाले दाँतको दुखाइबाट छुटकारा पाउनुका साथै
हृदयघात, मिर्गाैलाका रोग, मधुमेह, मुखको दुर्गन्धवाट बचाउने अनि
सुन्दरता बढाउने, राम्रो नोकरी, राम्रो सम्बन्ध तथा
खुसी प्रदान गर्न मद्दत गर्छ । नेपालमा दाँत तथा मुखको
उपचार अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्डजस्ता देशमा भन्दा एकदमै सस्तो
छ ।
२) दाँतको उपचार गराउँदा हुन सक्ने डर (डेन्टलफोबिया) :
– अहिले दन्तचिकित्सा क्षेत्र अत्यन्तै विकसित हुँदै गएको छ ।
साधारणतया दाँतको उपचारमा दुखाई नहोस् भनी लठ्याउने सुई
(लोकल एनेस्थेसिया) लगाइसकेपछि दुखाइको अनुभव हुँदैन । यतिमात्र
होइन कि आवश्यकता अनुसार चाहिएको खण्डमा पूरै शरीर
निदाउने (जनरल एनेस्थेसिया) अवस्था बनाएर पनि केही
सर्जरी गरिन्छ । अतः दाँतको उपचार गराउँदा दुखाइ हुन सक्छ
भनेर डराउनु हुँदैन । समयमै दन्तचिकित्सककहाँ गई उपचार गराई मुख
तथा दाँतको रोगबाट हुन सक्ने दुःख तथा समस्याबाट बच्न सकिन्छ ।
३) दाँत दुखेपछि मात्र चिकित्सक कहाँ जाने:
– प्रायः मानिस दन्तसडन सुरु भइसकेको अवस्था थाहा हुँदाहुँदै पनि
दन्तचिकित्सककहाँ उपचारका लागि जाँदैनन् । दाँत दुख्न थालेपछि मात्र
समस्या भएको बुझ्छन् । कतिपय त दुखाइ सहनै नसक्ने नभएसम्म
उपचारका लागि जाँदैनन् । बिरामीले समयमै दन्तचिकित्सककहाँ
गएर आफ्नो मुख तथा दाँतको उपचार गराउनुपर्छ । समयमै उपचार गराउनाले
दाँतलाई दन्तसडनबाट बचाउन सकिन्छ तथा अरु मुख तथा दाँतको रोगबाट हुन
सक्ने समस्याबाट समयमै जोगिन सकिन्छ । नियमित रुपमा
कम्तीमा तीन, तीन महिनाको
अन्तरालमा दन्तचिकित्सककहाँ गई आफ्नो मुख तथा दाँत जँचाउनु र
दन्तचिकित्सकको सल्लाह अनुसार दाँत सफा (स्केलिङ) गराउनु तथा अरु
उपचार गराउनुलाई उत्तम हो ।
४) दाँत फुकालेपछि आँखा कमजोर हुन्छ र दिमागमा असर गर्छ:
– यो नेपाली जनमानसमा विद्यमान मुख्य अन्धविश्वास हो ।
आँखा र दाँतलाई फरक फरक नशाले हाम्रो मस्तिष्कसँग जोडेको हुन्छ ।
दाँत फुकालेमा आँखा कमजोर हुन्छ भन्नु वा दिमागमा असर गर्छ भन्नु
एउटा भ्रम मात्र हो । अतः यो कुरा सत्य होइन र डराउनु हुँदैन ।
५) दाँत दुखेका बेला फुकाल्नु हुँदैन:
– धेरै जसो मानिस दाँत दुखिरहेका बेलामा दाँत निकाल्न नहुने भ्रम लिएर
दुखाइ सहेर बस्छन् र दुखाइ कम होस् भनेर पर्खिबस्छन् । दुखाइ कम
भएपछि मात्र दन्तचिकित्सककहाँ पुग्छन् । त्यसरी दुःख
सहेर बस्नु हुँदैन र जतिसक्दो चाँडो दन्तचिकित्सककहाँ जँचाउन
जानुपर्छ ।
६) दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लेर आउँछ तथा सिरिंग हुने
समस्या हुन्छ र दाँत फाटिन्छ:
– यो एउटा भ्रम मात्रै हो । दाँत सफा एउटा अल्ट्रासोनिक मेसिनले गरिन्छ
जसले कम्पनद्वारा दाँतमा जमेर बसेका फोहोरलाई हटाउँछ । यो कुनै धारिलोे
मेसिन होइन, त्यसैले यसले दाँत खिइँदैन । मानिसले सिरिंग सिरिंग
केही दिनका लागि अनुभव गर्न सक्छ तर त्यो जमेको फोहर
सफा भएपछि फलस्वरुप दाँतको जराको भाग देखिन गएर भएको हो । जुन
कि त्यही फोहोरु जमेर गिजा तल–तल जरातिर सर्नुको
कारणले भएको हो । त्यो फोहोर नै सफा भएपछि दाँतहरुबीच
खाली–खाली ठाउँको महसुस गरेर फाटेको जस्तो
लाग्नु भ्रममात्र हो । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन
। दाँतमा जमेका फोहोर किटाणुको घर हो, त्यो नियमित रुपमा
तीनदेखि छ महिनाको अन्तरालमा दन्त चिकित्सकको
सल्लाहअनुसार सफा गराइरहनुपर्छ । यसो गर्नाले दाँतलाई समातेर राख्ने
हाड तथा गिजा स्वस्थ रहन्छ र यसले मुखको दुर्गन्धको समस्याबाट पनि
छुटकारा पाउन सकिन्छ ।
७) गुलियो खानेकुरा खायो भने मात्र दन्तसडन हुन्छ:
– हामीले खाएको खानेकुरा जुन दाँतमा अड्किन्छ, त्यसलाई
किटाणुहरुले खाएपछि बनाएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सड्ने
हुन्छ । खानेकुरामा पाइने कार्बोहाइडे«ट र किटाणुको अन्तरक्रियाले त्यो
अम्ल उत्पादित हुन्छ । गुलियो खानेकुरामा कार्बोहाइड्रेटको मात्रा
बढी हुन्छ । अतः चकलेट र मिठाइजस्ता खानेकुराले
दन्तसडनमा बढी भूमिका खेल्छ तर अरु खानेकुरा पनि भात,
रोटी, आलु वा अरु तरकारीमा पनि कार्बोहाइडे«ट
पाइन्छ र यी खानेकुराले पनि दन्तसडन गराउन भूमिका खेल्छ ।
अतः खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी हुन्छ ।
८) दुधे दाँत अन्ततः झर्ने नै हो । त्यही भएर दुधे दाँतको
वास्ता गर्नु अनावश्यक हो:
– प्रायः आमाबुबा आफ्नो बच्चाको दन्त सड्न हुँदाहुँदै पनि दाँत भर्न
चाहँदैनन् । यो सोचेर कि यी दुधे दाँत अन्ततः झरेर
स्थायी दाँत त्यो ठाउँमा आई नै हाल्छ । यदि दन्तसडन भएर
केही गरी संक्रमण भयो र सुन्निएर आयो वा
दुख्यो भने त्यो दाँत बचाउनुभन्दा पनि निकाल्ने पक्षमा देखिन्छन् । दन्त
चिकित्सकको सल्लाह अनुसार दुधे दाँत पनि हाम्रो स्थायी
दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खान
चपाउन मद्धत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँ निर्धारण
गर्छ । अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत
बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी
समयभन्दा पहिले नै झ¥यो भने पछि आउने स्थायी दाँत
समयभन्दा ढिलो आउने तथा नमिलेर आउने हुन्छ । जसले गर्दा
दन्तसडन र गिजासम्बन्धी रोग लाग्ने सम्भावना बढेर आउँछ र
ती दाँत मिलाउन पछि अर्थोड्रोन्टिक उपचार तथा सर्जिकल
उपचार गर्नुपर्ने हुँदा खर्च पनि निकै लाग्छ । अतः दुधे दाँतको पनि
महत्व बुझेर त्यसको हेरचाह र उपचार गरी समयसम्म
बँचाउन सके राम्रो हुन्छ ।
९) सबै दाँत झरेपछि मात्र दाँत हाल्ने:
– प्रायः मानिस एक–दुइटा दाँत झरेको खण्डमा त्यहाँ दाँत
नहालीकनै अरु दाँत पनि झर्ने बेलासम्म पर्खिन्छन् । सबै
दाँत एकैचोटि हाल्ने भनेर बस्छन् । यी भ्रम प्रायः जसो
बुढापाका उमेरका मानिसमा विद्यमान देखिन्छ । यदि हाम्रो एउटा दाँत झरेर गयो
भने पनि त्यो ठाउँमा नक्कली दाँत हाल्न सकिन्छ र
हाल्नुपर्छ । अचेल त दाँत रोप्ने (इम्प्लान्ट) प्रविधिको विकाससँगै दाँत
राख्न झनै राम्रो भएको छ । समयमै दाँत हालेपछि हाड तथा गिजा सुकेर
जाने प्रक्रिया सुरु हुन्छ र हाडको मात्रा राम्रो भएपछि लगाएको दाँत
राम्ररी अड्ने हुन्छ । दाँत झरेर खाली भएको
ठाउँको विपरीत जव्रामा रहेको दाँत माथि सर्ने तथा छेउछाउको दाँत
पनि सरेर खाली ठाउँतिर आउँछ । यसले गर्दा हाम्रो सामान्य
रुपले दाँत जुड्ने प्रक्रिया बिग्रिन्छ र फलतः टेम्पोरोमान्डिबुलर
जोर्नीेको समस्या हुन सक्ने खतरा हुन्छ । अतः हाम्रो कुनै
दाँत केही गरी झर्न गएको खण्डमा सक्दो चाँडो
त्यो ठाउँमा दाँत हाल्नुपर्छ ।
१०) दन्तसडन बच्चामा बढी सम्भावित रोग हो:
– बच्चाहरु जन्मजात रुपमा दन्तसडनको सम्भावित हुने होइन । यो रोग
बच्चामा अधिक मात्रामा देखिनुको कारण हो कि उनीहरु आफ्नो
दाँत राम्ररी माझ्न सक्दैनन् । उनीहरुलाई
हामीले राम्ररी दाँत माझ्न सिकायौं र
उनीहरुले राम्ररी आफ्नो मुख तथा दाँत सफा राख्न
सके भने यो रोग धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । बच्चाहरुलाई
घुमाउरो विधि (फोन्स मेथड) सिकाउन सजिलो हुन्छ र
उनीहरुका लागि सिक्न पनि सजिलो हुन्छ । अतः दन्तसडन
बच्चादेखि बूढासम्म सम्भावना बोकेको रोग हो र यसको सम्भावनालार्इृ मुख,
दाँत तथा जिब्रोको नियमित र प्रभावशाली तरिकाले सफा गर्नाले
घटाउन सकिन्छ ।
११) गिजाबाट रगत आयो भने दाँत माझ्नु हुँदैन:
– मानिसहरु गिजाबाट रगत आउन थालेपछि दाँत माझ्नै बन्द गरिदिन्छन् । यो
सोचेर कि रगत खेर गइरहेको छ । तर त्यो सबै गिजाको संक्रमण भएर
सुन्निएर निम्त्याएको अवस्था हो । यो सबै राम्ररी दाँत नमाझेर
जमेका फोहोरमा रहेका किटाणुको संक्रमणको उपज हो । यस्तो अवस्थामा
दाँत हल्का रुपले राम्ररी सवैतिर माभ्mनुपर्छ र
दन्तचिकित्सककहाँ गएर उपचार गराउनुपर्छ ।
१२. दन्तचिकित्सक दाँतसम्बन्धी मात्र हो:
– धेरैजसो मानिस दन्तचिकित्सक भन्नेबित्तिकै दाँतसम्बन्धी
मात्र बुझ्छन् । तर यो सही बुझाइ होइन ।
दन्तचिकित्सकहरु दाँत मात्र नभई पूरा मुख, गिजा, जिब्रो, अनुहार, तल्लो
र माथिल्लो जव्रा टेम्पोरोमान्डिबुलर जोर्नी, मुखको क्यान्सर,
ओठ तथा तालु काटेको वा खुडेको आदि सबैका विशेषज्ञ हुन् ।
यी सबै अन्धविश्वासले गर्दा हामी सक्षम
उपचारबाट वञ्चित भइरहेका छौं । जनमानसलाई यो भ्रमबाट निकाल्न सकियो
भने दन्त उपचारमा लाग्ने समय र खर्चलाई न्यूनीकरण गर्न
सकिन्छ तथा यसबाट मानिसहरुले भोग्नुपर्ने दुःख र समस्याबाट बच्न
सकिन्छ । (स्वास्थ्य खबरपत्रिका)
डेन्टल सर्जन मुस्तफा ॐ समाज डेन्टल हस्पिटलमा कार्यतरत
छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...