Advertisement
|
काठमाडौं- 'मलाई न्याय चाहिएर आएको हुँ, आयोगले सत्य पत्ता लगाएर दोषीलाई कारबाही गर्छ भन्ने विश्वास लिएकी छु। मेरा पतिको हत्या एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भएको हो। नत्र उनको पुत्ला जलाएको दुई दिनपछि अफिसमै आएर किन गोली हानियो?'
लमजुङकी सावित्री चिलुवालले बुधबार यस्तै दाबीसहित पति गणेश चिलुवालको हत्यामा संलग्नलाई कारबाही माग गर्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएकी छन्। '१२ वर्षसम्म हत्यारा खुलेआम हिँडेकाले उनीहरुलाई सजाय दिलाउन आयोगमा आएकी हुँ,' सावित्रीले भनिन्, 'गाउँबाट यातना दिएर लखेटेपछि राजधानी बस्दा समेत हत्या गर्नेलाई कानुनी कठघरमा ल्याउने समय आएको छ।'
नेपाली कांग्रेसको स्थानीय राजनीति गरेर बसेका गणेशमाथि २०५६ साउन २३ गते नै माओवादीले हत्या प्रयास गरेका थिए। धमिलीकुवाको वडाध्यक्ष रहेका उनलाई सुराकी गरेको आरोपमा ३०–३५ जना माओवादी आएर अपहरण प्रयास गरे। नसकेपछि घरछेउकै मकैबारीमा खुकुरी र लाठी प्रहार गरी निर्मम यातना दिए। बेहोस चिलुवाललाई मकैबारीमै छाडेर उनीहरु हिँडे। 'मर्योक भन्दै छोडेका रहेछन्,' सावित्रीले भनिन्, 'उक्त घटनापछि हामी लमजुङबाट विस्थापित भएर राजधानी आयौं।'
चिलुवाल काठमाडौंको वीर अस्पतालमा उपचार गराउन थाले। उपचारका लागि पार्टीका नेताले आर्थिक सहयोगसमेत गरे। आफूले पाएको यातना सम्झँदै उनले आफ्नै अध्यक्षतामा माओवादीपीडित संघ गठन गरी राजधानीको मुटु बागबजारमा कार्यालयसमेत स्थापना गरे।
बागबजारको प्रजातन्त्र चोकमा एक्कासि उनकै नेतृत्वमा २०६० फागुन १ गते माओवादी अध्यक्ष पुष्पकमल दाहालको पुत्ला जल्यो। माओवादी आन्दोलन जनताविरुद्ध रहेको भन्दै पीडित संघको नेतृत्वमा जुलुस र नाराबाजीसमेत भयो। त्यसको दुई दिनपछि बागबजारस्थित पीडित संघको कार्यालमै अध्यक्ष चिलुवालमाथि गोली प्रहार भयो। उनको हत्या गरेर माओवादी कार्यकर्ता फरार भए। लगत्तै माओवादीले लमजुङ, धमिलिकुवा– २ का नेपाली कांग्रेस कार्यकर्ता चिलुवाललाई माओवादीविरुद्ध गतिविधि गरेको अभियोगमा सफाया गरिएको भन्दै माओवादीले घटनाको जिम्मेवारी लियो।
सुरक्षाकर्मीले आक्रमणकारी पक्रन सकेन। माओवादीले जिम्मा लिएपछि द्वन्द्वकालीन घटनाका रूपमा १२ वर्षसम्म यो विषय थाँती रह्यो। यसअघि पनि उनी बसेको घरमा फोनबाट बारम्बार धम्की आउने गरेको सावित्रीले बताइन्। 'धम्की त कति आयो आयो,' उनले सम्झना गरिन्, 'दिनरात धम्कीसँगै मानिसले हामी बसेको स्थानमा पिछासमेत गर्थे। त्यसबाट नडराई माओवादीविरुद्ध सडक आन्दोलन नै सुरु गरेकाले उहाँको हत्या गरिएको हो।'
पतिको हत्यापछि छोराछोरी सम्हालेर उनी राजधानीमै बसेकी छन्। 'लमजुङ जाँदा सधैं त्रास भएकाले राजधानीमा बसेकी हुँ,' उनले भनिन्, 'अब सत्य थाहा पाएर दोषीले सजाय पाएपछि मात्र जान्छु।' यसअघि सरकारले राहतस्वरुप चार लाख दिएको उनले बताइन्। तर पैसा नभई आफूले घटनाको सत्यतथ्य र पीडितलाई कारबाही मागेको उनको भनाइ छ। कुनै पार्टीको कार्यकर्ता भएकै आधारमा आगामी दिन कसैले आफ्नो जस्तो दुःख भोग्न नपरोस् भनेर नै सजाय माग गरेको उनले जानकारी दिइन्।
द्वन्द्वकालका घटनाको स्वतन्त्र छानबिनका लागि गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिन आइपुगेकी सावित्री माओवादी पक्षबाट पीडितमध्येकी हुन्। उनीजस्तै राज्य पक्षबाट पीडित बाराकी शान्तीदेवी थापा, शशिकुमारी भुजेल र चक्र शाहीले पनि द्वन्द्वका कारण आफ्ना परिवार गुमाएको भन्दै उजुरी दर्ता गराएका छन्। थापा र भुजेलले पति गुमाएका छन् भने शाहीले १४ वर्षदेखि बुबाको कुनै खबर पाएका छैनन्।
उनीहरुले राज्यपक्षले दिएको पीडामाथि स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही माग गर्दै आयोगमा उजुरी दिएका छन्। आयोगमा तीन दिनमा ४ सय थान उजुरी दर्ता भएको छ भने बेपत्ता आयोगमा १ सय ५० थान दर्ता भएका छन्

0 comments
प्रतिक्रिया दिनुहोस्...