Advertisement
|
दोलखा, ९ वैशाख– नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका एक जिम्मेवार कर्मचारीले नै विद्युत् महसुल रकम नतिरेको तथ्य सार्वजनिक भएको छ ।
दोलखा शाखाका सहायक लेखा अधिकृत टेकबहादुर श्रेष्ठले ३० महिनाको महसुल तिरेका छैनन् । उनले १९ हजार २५५ महसुल तिर्न बाँकी रहेको छ । यो रकम सहायक लेखा अधिकृत श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणले दिएको सहुलियतभन्दा बढीको रकम हो ।
शाखाका प्रमुखदेखि सहायक लेखा अधिकृतको लापरबाहीका कारण प्राधिकरणले हालसम्म विद्युत् महसुल उठाउन सकेको छैन । महसुल नबुझाउनेमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासमेत रहेको छ । आयोजनाले एक करोड १२ लाख ९६ हजार महसुल बुझाउनु पर्नेमा भर्खरै ८० लाख रकम बुझाएको तर ब्याजसमेत गर्दा ४५ लाख तिर्न बाँकी रहेको दोलखा शाखाका कर्मचारी बताउँछन् ।
भीमेश्वर एफएमले पनि महसुलबापत दुई लाख ७० हजार पनि तिर्न बाँकी छ । त्यस्तै भीमेश्वर नगरपालिकाले पनि प्राधिकरणलाई सात लाख महसुल तिर्न बाँकी रहेको छ ।
स्थानीय उपभोक्ताले पनि द्वन्द्वकालदेखि महसुल नतिरेको पाइएको छ । नाम्दु, काभ्रे, गैरीमुदी, जुँगु, क्षेत्रपा झुले जफे मिर्गेलगायत गाविसका उपभोक्ताले पनि विद्युत् महसुल नतिरेको शाखा प्रमुख शेरबहादुर सुनुवारले बताए ।
यता स्थानीयवासी भने दैनिकजसो बत्ती गइरहने समस्याका कारण हैरान भएका छन् । प्राधिकरणको लापरबाहीका कारण लापिलाङलगायत गाविसमा मिटर बक्ससमेत राखिएको छैन ।
त्यस्तै केही स्थानमा उपभोक्ताले जतासुकै ‘हुकिङ’ गर्दै बत्ती बालेको पाइएको छ । विद्युत् प्राधिकरणका कर्मचारी भन्छन्, ‘कार्यालयमा मनपरी छ । आफ्नो गोदामघर हुँदाहुँदै सामान अरुको गोदाममा राखिएको छ । कुनै नियामक निकाय नभएझै गरी मनपरि ढङ्गबाट बोलपत्र आह्वान गरी काम दिइएको छ ।’
‘विद्युत् चुहावट नगरौँ’ भन्ने कार्यक्रम सञ्चालन गर्न केन्द्रको निर्देशन भए पनि कार्यालय प्रमुखदेखि सबै कर्मचारीले चुहावटलाई प्रोत्साहन गरिरहेको स्थानीय जनताको आरोप छ ।
यसैबीच, प्राधिकरणका प्रमुख सुनुवारले भने आफूहरु रकम उठाउन प्रयत्नशील रहेको बताए । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...