-->
८ कक्षामा पढ्ने नानीले यसरी इतिहास सँगाल्ने प्रयास गरिन्
Advertisement

यसरी हल्लिएको थियो डेढ वर्षअघि नेपाल
काठमाडौं, ६ कात्तिक – अघिल्लो वर्षको वैशाख १२ गते गएको भूकम्पले नेपाल हल्लायो । धेरैलाई ज्यान जोगाउनै मुश्किल प–यो । नौ हजारभन्दा बढीले त भूकम्पमा परेर ज्यानै गुमाए ।
दिउँसो ११ बजेर ५६ मिनेट जाँदाको त्रासदी हामीले शायदै बिर्सौंला । भूकम्पमै परेर २२ हजारभन्दा बढी घाइते भए । थुप्रै घरहरू भत्किए । ऐतिहासिक तथा पर्यटकीय स्थानहरू ध्वस्त भए ।
उक्त दिन नेपाल कसरी हल्लिएको थियो ? सामाजिक सञ्जाल र युट्युबमा केही भिडियो फूटेज हेरेर तपार्इँले थाहा पनि पाउनुभयो होला । भूकम्पको बेला विभिन्न स्थानमा देखिएका दृश्यहरू युट्युबबाट संकलन गरेर एक १५ वर्षीया बालिकाले बडो राम्रो भिडियो बनाएकी छन् । काठमाडौं कोटेश्वरकी विशाखा गौतमले अघिल्लो वर्ष कक्षा ८ मा पढ्दै गर्दा उक्त भिसिडी निर्माण गरेकी थिइन् ।
विभिन्न स्थानका सिसिटिभिले खिचेका फुटेजहरू यो भिसिडीमा प्रयोग भएका छन् । भिडियोमा विशाखाले मीठा नेपाली गीतहरू पनि समावेश गरेकी छन् । गीत र भिडियो सम्मिश्रणले जीवनमा आइपर्ने मृत्यु, संघर्ष र आशाको संकेत गर्छन् ।
‘युट्युबबाट संकलन गरेर भिडियोहरू निर्माण गरेकी हुँ,’ उनले भनिन्, ‘ती कुनै पनि भिडियो मैले खिचेको थिइनँ । संकलन मात्रै गरेकी हुँ ।’ उनले काठमाडौंसहित सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्लामा भूकम्पको समयमा भएको त्रासदीलाई भिडियोमा संकलन गरेकी छन् ।
‘मम्मी–बाबाको इच्छा पनि रह्यो, मलाई पनि सधैंलाई सम्झना हुन्छ भनेर बनाउन मन लाग्यो,’ उनले भनिन्, ‘भिडियो संकलन तथा मिक्सिङमा दुई महिना समय लागेको थियो ।’
उनले संकलन गरेको भिडियोमा भूकम्प गइरहेको बेला व्यक्तिले नै खिचेका र सिसिटिभीबाट खिचिएका फूटेजहरू राखिएको छ । भूकम्पले सदनमा भागाभाग मात्रै भएन, गाउँपाखा समेत कसरी हल्लिए भन्ने पनि भिडियोमा देख्न सकिन्छ ।
उनले उक्त सिडीमा भूकम्पपछि भएको उद्धार तथा राहतकार्यलाई समेत संकलन गरेकी छन् ।
सेन्टमेरिज स्कूलमा पढ्दै गरेकी उनले उक्त भिडियोमा आमाबुवाको चाहना अनुसार गीत भरेकी छन् । भिडियोका टुक्राहरू राखेकी छन् ।
इन्टरनेटबाट डाउनलोड गरिएका सम्पूर्ण भिडियोलाई उनले ‘मुभी मेकर’ नामक भिडियो एडिटिङ सफ्टवेर प्रयोग गरेर उक्त सिडी निर्माण गरेकी हुन् ।५० मिनेटको उक्त भिडियोमा सम्पूर्ण नेपाल कसरी हल्लिएको थियो भन्ने देख्न सकिन्छ । उनले भिडियो अन्त्यमा पुनर्निर्माण मार्फत देशलाई फेरि उठाउनुपर्ने विषय समेत समेटेकी छन् ।
‘आफ्नो क्षमता कस्तो रहेछ भन्ने जान्न पनि यो काम गरेकी हुँ, भविष्यमा हेर्दासमेत अहिलेको क्षमता थाहा हुने भयो,’ उनले भनिन्, ‘अहिलेसम्म यो भिसिडी बेचेकी छैन तर साथीभाइ र आफन्तलाई भने बाँडें ।’लोकान्तरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.