Advertisement
|
काठमाडौं, ५ कात्तिक । आफ्नै पार्टीको प्रस्तावमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको विपक्षमा उँभिएको भन्दै हंगामा भएपछि माओवादी केन्द्रकी सांसद रुपा महर्जनले आफू लोकमानको पक्षमा नरहेको स्पष्टिकरण दिएकी छिन् । पार्टीले आफूलाई झुक्याएर महाअभियोगमा हस्ताक्षर गराइएको भन्दै फेसबुकमा स्ट्याटस लेखेर हस्ताक्षर गराउनेलाई नै कारवाहीको माग समेत गरेकी रुपाले पुराना स्ट्याटस मेटेर नयाँ स्ट्यास लेखेकी हुन् ।
रुपाले आफू लोकमानको पक्षमा नरहेको र हस्ताक्षर संकलन गर्दा झुक्काइएको प्रति मात्र आफ्नो आपत्ति रहेको स्पष्टिकरण दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना स्टाटस मेटाएर नयाँ स्ट्याटस राख्दै उनले भनेकी छिन्,”मेरो विषयमा मिडीयामा जुन ढंगको प्रचार आयो त्यो विलकुल गलत हो । लोकमानको पक्षमा म छुइन । प्रक्रिया गलत भयो । सायद जानकारी भएको भए महाअभियोगको पक्षमा मेरो हस्ताक्षर पहिलो हुने थियो । तर, विधी नमिलाइ चालिएको कदमप्रतिको मेरो आपत्ती हो । Any way, हस्ताक्षरको सदुपयोग र अभियान सफल पार्न तिर लाग्ने नै त होला नि” ।
महर्जन समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । उनले यस अघीको फेसबुक स्ट्याटसमा अहिलेको घटनाक्रमलाई पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणसँग तुलना गरेकी थिइन् । आफ्नो पार्टी नेतृत्वलाई कच्चा भन्दै उनले फेसबुकमा लेखेकी थिइन् ‘कच्चा खेल, कहिले कटवाल कहिले लोकमान ।’
बुधबार माओवादी सांसद एवम् पूर्वलडाकु कमाण्डर महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेको महाअभियोग प्रस्ताव हिजो संसद सचिवालयमा दर्ता भएको थियो ।
प्रस्तावमा दुबै पार्टीका १ सय ५७ सांसदले हस्ताक्षर गरेका छन् । तर, सो हस्ताक्षर दुरुपयोग गरेर अपराध गरेको आरोप माओवादी सांसद महर्जनले लगाएकी थिइन् । रुपाले पार्टी नेतृत्वलाई चुनौती दिएर लोकमानको पक्ष लिएको भन्दै उनको विषयमा मिडियामा हेडलाइन बनेका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...