Advertisement
|
महोत्तरी-जथाभावि चुरे दोहन र लामो खडेरीले महोत्तरीको चुरे क्षेत्र अन्तर्गत पर्ने गाउँवस्तीहरुमा पानीको मुहान सुक्न थालेपछि जिल्लाको उत्तरवर्ती आधा दर्जन ग्रामिण क्षेत्रमा खानेपानीको हाहाकार भएको छ।
जिल्लाको हातिलेट , बर्दिवासनगरपालिका ७ किसाननगर , माईस्थान , विजलपुरा , पशुपतिनगर , भंगहा , बेलगाछी , रामनगर , कुशमाडी लगायतका ग्रामीण वस्तीहरुमा अहिले पानिको मुहानहरु सुक्न थालेपछि पानीको हाहाकार भएको स्थानीयहरु बताउँछन।
'गाउँ भरिका ९० प्रतिशत भन्दा बढी पानीका मुहान सुकिसकेका छन्।' पशुपतिनगरका स्थानीय महेन्द महतोले भने 'अझ एक साता यस्तै रह्यो भने खानेपानीका लागि २ किलोमिटर टाढा पुगेर खोलाको पानी ल्याएर खानु पर्ने अवस्था आउने छ।'
५ सय घर परिवारको वस्ती रहेको भंगहा ४ मा खानेपानीको रुपमा रहेका चापाँकल सुकीसकेका छन भने पुराना ईनार पनि सुकेको स्थानीय सत्यनारायण यादवले बताए।
'पुरानो चाँपाकल र ईनार जति सबै सुके।' भंगहा ३ का सत्यनारायण यादवले भने 'पोहरसाल नया खनिएको ईनारमा मात्र पानी रहेको र सोहि ईनारबाट हामी सवै गाउँलेले जेनतेन पानीको जोहो गर्न भ्याएका छौं।'
यस्तै बर्दिवास नगरपालिका ७ किसाननगरमा एकाध ईनारमा मात्र खानेपानी रहेको र अझ एक साता यस्तै स्थिति रहे खानेपानीका लागि २ किलोमिटर टाढा खोला सम्म पुग्नु पर्ने स्थिति आउने स्थानीय गोपाल कार्कीले बताए।
यस्तै पशुपतिनगरमा रहेको एक सय ३० ईनार मध्ये एक सय ५ वटा ईनार सुकेको स्थानीयले जानकारी दिएका छन्।
पानीको हाहाकारका कारण ग्रामीण बस्तीका किसानहरुले खेतवारीमा लगाएको प्याज परबल , घिरौला , भिन्डी , करेला लगायतका तरकारीबाली पानीकै अभावमा सुक्न थालेपछि किसान चिन्तित बन्न थालेका छन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...