Advertisement
|
भक्तपुर, चैत ८ ‘मलाई उहाँलाई भेट्दा साथी भेटेजस्तै लाग्यो ।’ भक्तपुर सानो व्यासीका १४ वर्षे पुरुषोत्तम सुवालले भन्नुभयो ‘उहाँले मलाई सम्भव भए फेरि भट्छु भन्नुभएको छ ।’
बेलायती राजकुमार ह्यारी आइतबार बेलुका पाँच बजे भक्तपुरको सानो व्यासी पुग्नु भएको थियो । भूकम्प पीडितको अवस्था बुझ्न भक्तपुर आइपुगेको ह्यारीलाई बुझाउने र घुमाउने काम पुरुषोत्तम सुवालले गर्नुभयो ।
वैशाख १२ गतेको भूकम्पपछि अरु नेपालीको जस्तै पुरुषोत्तम सुवालको पनि दिनचर्यामा परिवर्तन आयोे । प्रायः विद्यालय जाने आउने र बाँकिकोको समयमा साथीसँग घुम्ने, गुच्चा खेल्ने गरेका सुवालको जीवनमा भूकम्पले कायापलट नै गरिदियो । आफू बसेको घर भूकम्पले भत्किएपछि शिविरमा पालको टहरामा बसेका सुवालले आफ्नो वरपर शिविरमा बस्ने मानिसलाई खाना पकाएर खुवाउनमा मद्दत गर्नुभयो । जर्मन सहयोगमा बनेको सामाजिक संस्था आएओएम शिविरमा राम्ररी सहयोग गरेपछि उहाँ व्यासी व्यवस्थापन समितिको अध्यक्ष बन्नुभयोे र सामाजिक सेवालाई निरन्तरता दिनुभयो ।
प्रभात इंग्लिस उच्च माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत सुवाललाई सामाजिक कामले नै राजकुमार ह्यारीको गाइड बन्ने अवसर प्राप्त भयो । सुवालले गरेको कामको बारेमा राजकुमार ह्यारीलाई पहिले नै जानकारी भइसकेको थियो । त्यसैले उहाँ सुवाललाई भेट्न इच्छुक हुनुहुन्थ्यो । राजकुमार ह्यारी भक्तपुर आउँदा आफूलाई नै भट्नुहुने खबर उहाँले गत शनिबार नै पाइसक्नुभएको थियो । ‘राजकुमार ह्यारीले मलाई भेट्ने भन्दा म सार्है उत्साहित भएको थिए, आएओएमसँगको सम्बधबाट नै मैंले उहाँलाई भेट्ने अवसर पाएको हुँ ।’
ह्यारीले भक्तपुर बसाईको २५ मिनेट सुवालसँगै बिताउनुभयो । ह्यारीसँगको भेटबारे जानकारी दिँदै सुवालले उज्यालो अनलाइनसँग भन्नुभयो ‘मैंले उहाँलाई सानो व्यासीको अस्थायी टहरा, जिल्ला प्रशासन कार्यालयको बाटो हुँदै भक्तपुर दरबार क्षेत्र घुमाएँ ।’ अंग्रेजीमा राम्रो दखल भएका सुवाललाई राजकुमार ह्यारीसँग कुरा गर्न खासै समस्या भएन । लवजमा आएको फरकपनले भने कुनै कुनै बेला थोरै समस्या परेको थियो ।
‘मैले उहाँलाई अस्थायी शिविरहरु, भूकम्प आएपछि भोगेका समस्याका बारेमा जानकारी दिएँ’ राजकुमार ह्यारीलाई भक्तपुरका बारेमा के के जानकारी दिनुभयो भन्ने प्रश्नमा सुवालले भन्नुभयो ‘ह्यारीले भूकम्प आउँदा कस्तो अनुभव भयो भनेर सोध्दा मैंले आफ्नो भोगाई पनि सुनाए । शिविरको अवलोकनपछि मैले उहाँलाई भक्तपुर दरबार क्षेत्रमा लगे ।’ राजकुमार ह्यारीले भूकम्पले पाँचतले मन्दिर किन नभत्किएको र दरबार क्षेत्रको महादेवको मन्दिर किन नभत्केको भनि सुवालसँग सोध्नुभएको थियो ।
भक्तपुर भ्रमण पाटनको भन्दा राम्रो भएको ह्यारीले बताउनुभयो । भक्तपुरमा भने सबैले पछि पछि लागेर भिड नगरी राम्ररी अवलोकन गर्न सहयोग गरेकोले राजकुमारले खुसी व्यक्त गरेको उहाँले बताउनुभयो । ‘पाटनमा घुम्दा त मलाई सबैले घेरेर फोटो खिच्नमै नै व्यस्त रहे तर मेरो जिज्ञासा मेटाउने कोही भएनन् ।’ ह्यारीले सुवालसँग भन्नुभएको थियो । आफ्नो अनुभव राजकुमार ह्यारीसँग साटासाट गर्न पाएका सुवालले त्यति ठूलो मान्छेलाई भेट्न पाउँदा रमाइलो लागोको सुनाउनुभयो । सुवालले भन्नुभयो ‘कुराकानी गर्न पाउँदा धेरै खुसी लाग्यो ।’
राजकुमार ह्यारीसँग सुवालको मन पर्ने नपर्ने विषयमा पनि कुराकानी भएको थियो । ह्यारीले सुवालसँग आफ्नो मनपर्ने खेल फूटबल रहेको सुनाउनुभयो । नयाँ नयाँ ठाउँ घुम्न मनपर्ने तर राजकुमार भएकोले जहाँ गएपनि भिड लाग्ने गरेकोले धेरैजसो समय राजदरबारमै बस्ने गरेको अनुभव पनि राजकुमार ह्यारीले सुनाउनुभयो ।
सुवालले राजकुमारलाई आफ्नो आमा र दिदीलाई पनि भेटाउनुभएको थियो । आइतबार राजकुमारको गाइड बन्ने थाहा पाएपछि उहाँलाई विभिन्न सञ्चारमाध्यमबाट धेरै फोन आयो । उहाँ भन्नुहुन्छ ‘संख्या धेरै थियो, ८ जना मात्र गन्न भ्याएँ । कार्डमा प्रेस मात्र लेखेको देखेँ ।’ भक्तपुर दरबार क्षेत्रमा घुम्दा घुम्दै भिड लागेपछि अगंरक्षकले अन्त घुम्न नजान अनुरोध गरेपछि राजकुमार भक्तपुरबाट जानुभएको थियो । सुवाल भने विभिन्न सञ्चार माध्यमलाई अनुभव बताउँदैमा व्यस्त हुनुहुन्छ ।
Ujyaaloonline बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...