Advertisement
|
लुटेरा पक्राउ गर्दा घटना खुल्यो
विराटनगर: सुनसरीको नरसिंह गाविस–९ मा बजार जाँदै गरेको अवस्थामा बाबु छोरीलाई लुटपाट गरेर भागेका हतियारधारी दुई युवाले प्रकाशपुरबाट अर्की एक युवतीको अपहरण गरेका छन् ।
अपहरण गरेर भारत कटाउन लागेको अवस्थामा सोमबार साँझ प्रकाशपुर ६ की २१ वर्षीय जुना लिम्बूलाई सकुशल उद्धार गरेर प्रहरीले घटनामा संलग्न एक युवालाई पेस्तोल र गोली सहित बसन्तपुर–९ बाट पक्राउ गरेको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले पश्चिम कुशाहा–९ का २५ वर्षीय ईन्द्रदेव दास र नरसिंह–३ का २३ वर्षीय ईमराम अन्सारीले लुटपाट मच्चाएपछि अर्की युवतीको अपहरण गरेको जानकारी दिए ।
घटनामा संलग्न मध्ये दासलाई कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एउटा गोली सहित पक्राउ गरिएको एसपी पोखरेलले बताए ।
उनले भारतीय भूमितर्फ फरार बनेका अन्सारीको खोजीका लागि विशेष टोली परिचालन गर्दै भारतीय प्रहरीसँग समेत समन्वय गर्ने काम भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार नरसिंह गाविस–९ का सूर्यनारायण साह र उनकी छोरी अनिताकुमारी बजारतर्फ जाने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई युवाले प्रकाशपुर र भोक्राहाको बीच जंगलमा हतियार देखाएर हल्ला गरेमा मारिदिने धम्की दिंदै सोमबार लुटपाट गरेका थिए ।
बाबुछोरीका साथबाट पाँच हजार रुपैयाँ नगद र एक तोल सुन लुटिएको थियो । लुटपाट गरेर भागेका दासलाई पक्राउ गरेपनि अन्सारी प्रहरीलाई छलेर भाग्न सफल भए ।
एसपी पोखरेलका अनुसार दासलाई पक्राउ गरेपछि उनीहरुले लुटपाट लगत्तै युवती अपहरण गरेको घटनापनि सार्वजनिक भएको हो । लुटपाटको घटना भएको केही समयमै प्रकाशपुरबाट पनि युवती अपहरणमा परेको भन्ने खवर प्रहरीमा आएको थियो ।
‘लुटपाट र अपहरण भएको घटनाको अनुसन्धान र त्यसमा संलग्नलाई पक्राउका लागि प्रहरीको भिन्दा भिन्दै टोली परिचालन गरिएको थियो,’ प्रहरी प्रमुख पोखरेलले भने, ‘तर घटनामा संलग्नको दुबैतिरबाट आएको हुलिया र मोटरसाइकल नम्बर भने मिलेको थियो ।’
प्रहरीका अनुसार दास र अन्सारीले नरसिंहमा लुटपाटपछि प्रकाशपुर-६ को धरधरे नरहबाट युवतीलाईपनि पेस्तोल देखाएर अपहरण गरेका हुन् ।
नचिनेका युवाहरुले अपहरण गरेर मोटरसाइकलमा हालेलगत्तै होहल्ला गरेमा मारिदिने धम्की दिएपछि आफू केहीपनि बोल्न नसकेको उनले बताइन । ती युवतीले पछि प्रहरीलाई भने सबै कुरा जानकारी गराएकी थिइन ।
‘बाटोमा हिँडिरहेका बेला पेस्तोल देखाएर एक्कासी उठाएर मोटरसाइकलमा हाले । उनीहरुलाई मैले चिनेकै थिइँन,’ उनको भनाइ उद्रित गर्दै प्रहरीले भन्यो, ‘यस अघि कहींपनि नदेखेका कारण अपरिचित युवाले मारिदिने धम्की दिंदै तीव्र गतिमा मोटरसाइकल दक्षिणतर्फ हुइँक्याउँदै लिएर गएपनि डर लागेका कारण केही बोल्न सकेको थिइँन । प्रहरीले नभेटेको भए के गर्ने थिए भन्ने थाहा छैन ।’
अपहरणका बेला आलमले को १६ प ६१९३ नम्बरको मोटरसाइकल चलाएको र बीचमा युवतीलाई राखेर दास पछाडि बसेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । भारतीय भूमिमा पुर्याउन दुई किलोमिटर मात्र दुरी बाँकी हुँदा अपहरितको उद्धार गर्दै प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको हो । अपहरणकारीले युवतीलाई घटनास्थलबाट दक्षिणतर्फ १० किलोमिटर पर पुर्याइसकेका थिए ।
‘केही ढिलो भएको भए उनीहरुले युवतीलाई भारत कटाउने रहेछन्,’ सुनसरी प्रहरी प्रमुख एसपी पोखरेलले भने, ‘प्रहरी चौकी बसन्तपुर र सशस्त्र प्रहरीको सुरक्षा बेस बसन्तपुरको संयुक्त टोलीले चेकप्वाईन्ट थापेर लुटेरा पक्राउ गर्दा अपहरणमापनि उनीहरुकै संलग्नता खुल्यो ।’
उनका अनुसार प्रहरीलाई देख्न साथ मोटरसाइकल हुइँक्याएर भागेका उनीहरुलाई दुई किलोमिटर पर सम्म लखेटेर स्थानीय बासिन्दाको सहयोगमा बसन्तपुर–९ बाट पक्राउ गर्न प्रहरी सफल भएको हो ।
प्रहरीलाई देख्नसाथ अपहरणकारीले पेस्तोलबाट एक राउण्ड फायरिङ समेत गरेका थिए । पोखरेलका अनुसार प्रहरीलाई लक्षित गरेर गोली प्रहार गरिएपनि कुनै क्षति भने भएन ।
प्रहरीलाई छलेर भाग्ने क्रममा अपहरणकारीले मोटरसाइकल लडाउँदा अपहरित युवती घाइते भएकी छन् । उनको इनरुवामा उपचार भइरहेको छ । प्रहरीले आफ्नो मोटरसाइकलले समेत पिछा गर्न थालेपछि अपहरणकारीले युवती र मोटरसाइकल त्यहीं छाडेर भाग्ने प्रयास गरेका थिए ।
युवती अपहरणमा पर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासले भने लुटपाट र अपहरणमा आफूहरुकै संलग्नता रहेको स्विकार प्रहरी समक्ष गरिसकेका छन् । ‘घटनमा संलग्न दुई जना मध्ये एक जना मात्र पक्राउ परेका छन् ।
पक्राउ परेकाले फरार भएका युवाले लुटपाट र अपहरण गर्नु पर्छ भनेर योजना बनाएकाले आफूलाई यस सम्बन्धी बाँकी कुरा थाहा नभएको बताएका छन्,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘घटनामा संलग्न अर्का युवा पक्राउ परेपछि पूरै कारण खुल्ने छ । अनुसन्धानको प्रारम्भीक चरणमा रहेका कारण कुन मनासयले अपहरण गरिएको हो भन्ने कुरानै खुल्न सकेन ।’
प्रहरीको प्रारम्भीक अनुसन्धानले अपहरणमा संलग्नहरुको अन्य जघन्य प्रकृतिका अपराधिक घटनामा पनि संलग्नता रहेको देखाएको छ ।
‘यस अघि भएका केही अपराधिक घटनामा अपहरणकारी युवाहरुकै संलग्नता छ भन्ने कुरा पत्ता लागेको छ । गहिरो रुपमा अनुसन्धान थालेका छौं,’ एक प्रहरी अधिकारीले भने, ‘थप अनुसन्धानपछि मात्र यस अघिका घटनामा उनीहरुको संलग्नता पुष्टि हुन्छ ।’
पक्राउ परेका दास विरुद्ध अपहरण र हातहतियार खरखजना मुद्धा चलाउनका लागि मंगलबार म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
annapurnapost

0 comments
प्रतिक्रिया दिनुहोस्...